
यातायात इन्जिनियरिङको क्षेत्रमा अनुसन्धान, क्षमताविकास र प्रकाशन प्रवर्द्धन गर्ने उद्देश्यले युनाइटेड टेक्निकल कलेज, चितवन र ससाइटी अफ ट्रान्सपोर्टेशन इञ्जिनियरस् नेपाल (SOTEN) बीच समझदारीपत्र (MoU)मा हस्ताक्षर गरिएको छ।
दुवै संस्थाबीच भएको सहकार्यले शिक्षण, अनुसन्धान र व्यावसायिक सीप विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ। सहमतिपत्रअनुसार यातायात इन्जिनियरिङ सम्बन्धी संयुक्त अनुसन्धान, सेमिनार, कार्यशाला, प्राविधिक प्रकाशन तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनेछ।
सहकार्य सफल बनाउन युनाइटेड टेक्निकल कलेजका तर्फबाट निरज बोहरा र SOTEN का तर्फबाट हेमन्त तिवारीले संयोजन तथा नेतृत्व गरेका थिए। उनीहरूको पहल र समन्वयका कारण यो सहकार्य सफलतापूर्वक सम्पन्न भएको हो।
सहमतिपछि SOTEN का प्रतिनिधि तिवारीले काठमाडौं उपत्यकामा सीमित अनुसन्धान गतिविधिलाई विस्तार गर्दै चितवन लगायतका क्षेत्रहरूमा नवप्रवर्तनात्मक काम गर्ने लक्ष्य लिइएको बताए। उनका अनुसार, MoU अनुसन्धानलाई स्थानीयकरण गर्दै विद्यार्थी र शिक्षकलाई व्यवहारिक र परियोजना-आधारित शिक्षामा संलग्न गराउने दिशामा महत्वपूर्ण कदम हुनेछ।
कलेजका प्रतिनिधि बोहराले पनि यो सहकार्यबाट विद्यार्थीहरूलाई अनुसन्धान र व्यावसायिक अभ्यासमा अवसर मिल्ने विश्वास व्यक्त गरे।
समझदारीअनुसार दुबै पक्षले आवश्यक प्राविधिक सहयोग, स्रोत तथा ज्ञान सञ्जाल प्रयोग गर्दै दीर्घकालीन रूपमा सहकार्यलाई विस्तार गर्ने बताएका छन्।
